राजनीति

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने



काठमाडौँ, ४ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आउँदो असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन् । “जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दै छौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ,” उनले भने ।

वि.सं. २०७९ पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनै पनि उडान भएको छैन । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसपछि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने बताए पनि कुन–कुन एयरलाइन्सका जहाजबाट हुने भन्ने खुलाएनन् ।

जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान
पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए । उनका अनुसार काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा उडान हुनेछन् । उक्त प्रयोजनका लागि टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ ।

पर्यटनमन्त्री किरातीले सञ्चालनमा नरहेका १८ विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने बताए ।नेपाल वायुसेवा निगमलाई व्यावसायिक रूपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप जहाज खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्ने गरी तीनथान जहाज खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

पर्यटनमन्त्री किरातीले भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति नागरिक तवरबाट खबरदारी हुन जरुरी भएको उल्लेख गरे । नेपालको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेकामा जोड दिँदै उनले सरकार र निजी क्षेत्रको साझेदारीलाई बढाएर अघि बढ्नुपर्ने बताए । उनले समयसापेक्ष पर्यटन क्षेत्रलाई अघि बढाउन नीतिगत सुधार गरेर अघि बढ्ने उल्लेख गरे ।

बजेटपछि ऐन निर्माणको दिशामा मन्त्रालय लाग्ने र त्यस प्रक्रियामा व्यवसायीको रायसुझाव लिइने उनले जानकारी गराए ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीपछि पर्यटन क्षेत्र पुरानै लयमा फर्केको संकेतले उत्साह थपेको बताए । उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रको सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रको सक्रियताको खाँचो औँल्याए । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनका काम सँगै अघि बढाइनुपर्ने धारणा राखे । नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन अझै केही मिहिनेत जरुरी रहेको बताए ।

सो अवसरमा संस्थाले पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने व्यवसायी शाक्यलगायत विभिन्न व्यक्तिलाई कदरपत्रबाट सम्मान गरेको थियो । पर्यटनमन्त्री किरातीले ती पुरस्कार प्रदान गरे । रासस