Banner News

देशको स्थिति देख्दा आँसु आउँछ : नेता नेम्वाङ



काठमाडौँ, ६ जेठ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको बताएका छन् ।

आज नेकपा एमाले संसदीय दल गण्डकीले आयोजना गरेको कार्यक्रममा पोखरा पुगेका नेता नेम्वाङले देशको अवस्था देख्दा दुःख लाग्ने गरेको बताए । उनले भने, ‘देशले भोगेको समस्यालाई पार लगाउने खालको नीति तथा कार्यक्रम आएन । जुन ढंगले आर्थिक अवस्थामा देश गुज्रेको छ । यो अवस्थामा पार लगाउने कुनै कार्यक्रम देखिँदैन ।’

एमाले संसदीय दलले शनिवार सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका नेम्वाङले युवा पासपोर्ट बोकेर लाइनमा बसेको देख्दा आँसु आउने गरेको बताए । उनले भने, ‘अहिले हाम्रो युवा पासपोर्ट हातमा लिएर लाइन लागेर विदेश जानुपर्ने अवस्था छ,’ ‘केही दिनअघि विदेशका कार्यक्रममा पनि पुगेको थिए । त्यो अवस्था देख्दा आँसु आयो ।’

विदेशका कार्यक्रममा पुग्दा युवाको दुःख र वेदना देख्दा मन पोल्ने गरेको बताउदै उनले भने, ‘जुन संसदीय प्रणालीमा हामी छौँ नेकपा एमालेलाई नसमेटी केही गर्न सक्ने अवस्था छैन । तर, कुनै पनि जानकारी बेगर देशको प्रमुख दललाई एक्लो बनाउने काम भइरहेको छ ।’