राजनीति

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : मन्त्री महत



काठमाडौँ, ६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको टिमसँग छलफल गरेका छन् ।

आज सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री महतले अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री डा.महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।

सांसदहरुको जवाफ दिँदै मन्त्री डा.महतले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।’ मन्त्री महतले नेपालमै उत्पादनलाई कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘यही उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ’ उनले भने, ‘नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं ।’