समाचार

गुल्मीमा तीन वर्षमा ११७ घरगोठ जले, ११ जनाको मृत्यु



तम्घास, १४ जेठ । आगलागीबाट गुल्मीमा तीन वर्षमा ११७ घरगोठ जलेर नष्ट भएका छन् ।

जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।

चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आवमा ३१ घर र १५ गोठ एवं आव २०७६÷०७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट तीन वर्षमा तीन करोड ६० लाख ३८ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ । जिल्लामा यो आवमा पाँचजनाले आगोबाट ज्यान गुमाएका छन् । वैशाख महिनामा मात्रै तीनजनाले आगोमा परेर ज्यान गुमाएका छन् । गत वर्ष चार र आव २०७६/०७७ मा दुईजनाको आगोमा जलेर मृत्यु भएको थियो । तीन वर्षमा २० जना घाइते भएका छन् । यो आवको चैतसम्म १० जना, गत वर्ष सात र आव २०७६/०७७ मा तीनजना घाइते भएका छन् । आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको ६१९.५ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्यांक समावेश गरिएको छैन । जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले बताए । सुक्खा मौसम र हावाहुरी एवं लापारबाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ । रासस