Banner News

बारम्बारको व्यवस्था परिवर्तन अब देशले धान्न सक्दैनः राष्ट्रपति पौडेल



काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बारम्बारको व्यवस्था परिवर्तन अब मुलुकले धान्न नसक्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको व्यवस्थाले नेपाली जनताको हातमा अधिकार पुगेको र राज्यस्तरमा पनि जनताको पहुँच र अधिकार स्थापित भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा जनतासामू गरिएका वाचा कति पूरा भएर भन्ने समीक्षा गर्न पनि आवश्यक रहेको बताएका छन्।

‘केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्‍याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन,’ शुभकामना सन्देशमा भनिएको छ, ‘आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ ।’

राष्ट्रपति पौडेलले जनताको अधिकारका लागि एउटै पुस्ताले तीन/तीन पटक सङ्घर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै रहेको भन्दै सत्तरी वर्ष सङ्घर्ष गरेर देशमा एउटा प्रणालीको टुङ्गो लगाएको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्ने बताउँदै राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थितिले त्यसलाई प्रमाणित गर्नुपर्ने मुख्य चुनौती देखिएको बताए । ‘यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो सर्त हो,’ सन्देशमा भनिएको छ।