राजनीति

जेलबाट छुटे रेशम चौधरी



काठमाडौँ, १५ जेठ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेलबाट छुटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् । सो कारागारबाट अन्य ९ जना पनि आममाफीअनुसार रिहा हुने छन् । मन्त्रिपरिषद्ले आइतबार बिहानै रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

पाँच वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय माफी भएको हो । २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।