अर्थ

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट: साढे ४ खर्बको घाटा



काठमाडौँ, १६ जेठ । सरकारले गत वर्षको विनियोजित बजेटभन्दा कम र संशोधितभन्दा बढी हुनेगरी साढे ४ खर्बको घाटा बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल खर्च १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको हो ।

गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएकोमा विष्णु पौडेलले मध्यावधि समीक्षामार्फत २ खर्ब ४४ अर्ब घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडको बजेट संशोधन गरेको थियो । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड र पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड विनियोजन रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।