राजनीति

प्रधानन्यायाधीश नियुक्तिका लागि कार्कीबिरुद्ध उजुरी आह्वान



काठमाडौँ, १६ जेठ । संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । बैठकमा कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरुलाई प्रदान गरेको छ ।

कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतमा बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित हुनुहुन्थ्यो । सुनुवाइ समितिबाट अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नु हुनेछ ।