समाचार

निःशुल्क इन्टरनेट



काठमाडौँ, १८ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ ।

आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो । नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क इन्टरनेट चलाउन पाउने गरी व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख कुन्साङ लामाले आफ्नो क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक बजार क्षेत्रमा सो सेवा विस्तार गरिएको बताए ।

वर्ल्डलिकं कम्युनिकेशन्ससँगको सहकार्यमा नगरपालिकाले विपी राजमार्गको बुच्चकोट बजार क्षेत्रदेखि भकुण्डे बजार क्षेत्र, बुद्धचोक, जगवैद्येश्वर मन्दिर क्षेत्र, नौबिसे चोकलगायत सात स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो। वर्ल्डलिकंका वाग्मती प्रदेश व्यवस्थापक निकेश अधिकारीले नगरपालिकासङगको समन्वयमा बजार क्षेत्रमा निःशुल्क फ्रि वाइफाइको सेवा विस्तार भइसकेको बताए। अहिले जोडिएका ठाउँमा भनेजस्तो सेवा प्राप्त गर्न नसके तत्काल गुनासोका सम्बोधन गर्नाका साथै धेरै स्थानमा सेवा विस्तार गर्दै जाने उनको भनाइ थियो ।