राजनीति

प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीद्वारा विराटनगरको रेल उद्घाटन



विराटनगर, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् ।

बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गरेका हुन् । प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ । विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।

भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो । उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ । यात्रुवाहक रेल सेवा भने तत्काल सञ्चालन हुने छैन ।

भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भएको थियो। जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ । बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ । करिब साढे २ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण काम हुन सकेको छैन ।

बथनाहादेखि बुधनगरसम्म (भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर) रेलमार्ग निर्माण भने चार वर्षअघि नै पूरा भएको थियो । दुई प्रधानमन्त्रीले रेलवेको उद्घाटन गरे पनि १० किलोमिटर क्षेत्रको काम कहिले सकिन्छ टुंगो छैन । भारततर्फ पाँच र नेपालतर्फ १३ गरी रेलवेको लम्बाई १८.१ किलोमिटर छ । नेपालतर्फ रेलवे परियोजनाका लागि ११९.८ विघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । जसमध्ये २१ विघा जग्गा अधिग्रहण २०७० सालदेखि रोकिएको छ ।