राजनीति

नेपाल भारतबीच सात बुँदामा सहमति, अति महत्वपूर्ण विषयमा मौनता



काठमाडौँ, १९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार सातबुँदे सम्झौता भयो । तर सीमा, सन्धि पुनरवलोकन लगायत अति महत्वपूर्ण विषयमा मौनता रहेको छ ।

हैदरावाद हाउसमा बिहीबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि नेपाल र भारतबीच सात बुँदामा सम्झौता भएको हो । द्विपक्षीय छलफलपछि प्रधानमन्त्री दाहाल र मोदीबीच नेपाल–भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुप्याउने सहमति भएको छ ।

त्यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पीडीए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको हो ।

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले संयुक्त पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी गराए । ६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए)भएको समेत जनाएका छन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।