Banner News

मोदीसँग तीनपटक ‘वान टु वान’ छलफल, ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो: प्रधानमन्त्री प्रचण्ड



नयाँ दिल्ली, १९ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटेल आईटीसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए ।

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए । “जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ,” उनले भने, “नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो ।”

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । “यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्त्वपूर्ण रह्यो । प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीनपटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो,” उनले भने । सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरवलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आज मध्य प्रदेशको इन्दौर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उनले मध्य प्रदेशका राज्यपालसँग भेटवार्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ । रासस