समाचार

आजको मौसम



काठमाडौँ, २२ जेठ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । तर, पश्चिमी वायुको कमजोर रहेको छ । जसका कारण गर्मी बढेको छ ।

आज बिहान सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका केही भू–भागमा आज पनि तातो हावा (लू) चल्ने भएको छ । विगत केही दिनको जस्तै आज पनि देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने भएको छ ।

केही दिनयता काठमाडौँसहित देशका विभिन्न भागमा गर्मी बढेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद् गोविन्द झा बताउँछन् । पश्चिमी वायु कमजोर रहेका कारण तापक्रम बढेको र बदली समेत हुन नसक्दा गर्मी बढेको उनको भनाइ छ ।

“काठमाडौँमा आज ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । र, यो क्रम अझै केही दिन रहनेछ,” मौसमविद् झाले भने । जनकपुर, भैरहवा, सिमरा, नेपालगन्जलगायत क्षेत्रमा पनि आज तापक्रम उच्च रहनेछ ।