राजनीति

सरकारले दिउसै ढाँट्ने काम गर्यो : सांसद भट्टराई



काठमाडौँ, २२ जेठ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टरार्यले संविधानमा भएको व्यवस्थाविपरित सरकारले दिउसै ढाँट्ने काम गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेर गैर संवैधानिक काम गरेको आरोप लगाएका छन् । नागरिकता जस्तो विषयमा धेरै खेलवाड नगर्न आग्रह गरे । प्रधानमन्त्रीसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे । उनले हिजो बिहे गरेर आएकी विदेशी महिलालाई १५ वर्ष नभई नागरिकता दिनुहुँदैन भन्ने माओवादीले एमालेले ७ वर्ष हुनुपर्छ भन्दा त्यसलाई लत्याउने काम भएको बताए ।

भट्टराईले भने– ‘नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस । सम्मानीय प्रधानमन्त्री यहाँ हुनुहुन्छ, उहाँलाई म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूले आफूसँग नभएको अधिकार विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो रु त्यो अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने, संविधान मिच्न दुरुत्साहन गर्ने, यो संसदको नियमावलीमा छ सभामुख महोदय, संसदको विशेष अधिकार हनन् भयो भने विशेष अधिकार हनन् समिति बनाएर संसदको विशेष अधिकार हनन् गर्नेमाथि पनि कारबाही हुन सक्छ । यो हामीले बनाएको नियमावली हो सभामुख महोदय । यसकारण यसमा प्रधानमन्त्रीजीको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्चले रोकेकोमा धन्यवाद ब्यक्त गरे । सांसद भट्टराईले गैरआवासीय ब्यक्तिलाई दिने नागरिकताको विषयमा आपत्ति नभएपनि महिलालाई नागरिकता दिने विषयमा रहेको प्रावधान आपत्तिजनक रहेको दावी गरे ।