अर्थ

अर्थमन्त्री महतको चलखेल: करका दर हेरफेर शंकास्पद



काठमाडौँ, २३ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले घाटा बजेट बनाएको अर्थ मन्त्रालयले राजस्वको लक्ष्य पूरा गर्न करको दायरा र दर बढाएको दाबी गरेको छ । तर केही वस्तुको करको दर परिवर्तन अस्वाभाविक देखिएको छ ।

स्वदेशी उत्पादन बढाउन भन्दै आयातित तरकारीमा समेत कर लगाएको अर्थ मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चुरोटको करमा सामान्य मात्र वृद्धि गरेको छ । विगतका हरेक बजेटमा १० देखि १९ प्रतिशतसम्म चुरोटमा कर बढाउँदै आएकोमा यो वर्ष ३ प्रतिशत मात्र वृद्धि हुनुले शंका उब्जिएको एक व्यापारीले बताए।

‘चालु आवमा राजस्वको लक्ष्य पूरा नभएको भन्दै नयाँ वस्तु तथा सेवामा समेत कर लगाउन सुरु गरिएको छ,’ ती अधिकारीले भने, ‘ धुम्रपानलाई निरुत्साहन गर्नुपर्नेमा किन ‘थोरै मात्र कर बढाइयो ।’

चुरोटमात्र नभएर विद्युतीय सवारी, विलासी मोटरसाइकलमा निर्धारण गरिएको करको विषयमा पनि अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भएको छ । अर्थमन्त्री महतले कुनै व्यापारिक समूहलाई फाइदा पुग्ने गरी करको दर हेरफेर नगरेको दाबी गर्दै आए पनि केही वस्तुमा करको दर हेरफेरको प्रश्न उठेको छ । यो समाचार नागरिक दैनिकमा छ ।