Banner News

राजनीतिक दललाई तातो नलागेपछि रमिता हेर्नुपर्ने अवस्थामा पुगेँ: सभामुख घिमिरे



काठमाडौँ, ३१ जेठ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा सभापति चयनका लागि दलहरू उदासीन भएपछि आफू रमिता हेर्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

मङ्गलवार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा कुरा गर्दै सभामुख घिमिरेले संसदीय समितिहरूमा सभापति चयन नहुँदा विधेयक अगाडि बढाउने लगायतका कुराहरूमा घाटा भइरहेको बताए । दुई तिन दिनभित्र हुने काममा पनि ढिलाइ भइरहेको घिमिरेले बताए । उनले आफूले यसका लागि कोसिस गरे पनि दलहरू अग्रसर नभएको बताए । उनले समितिको एउटा बैठक ज्येष्ठ सदस्यले सञ्चालन गरे पनि त्यसपछिका बैठक सभापति चयन गरेर सञ्चालन गर्नुपर्नेमा ज्येष्ठ सदस्यलाई बैठक सञ्चालनका लागि निरन्तरता दिनु उपयुक्त नभएको बताए । उनले समितिमा चुनाव गरेर सभापति चयन गर्न भने पनि दलहरू अग्रसर नभएको गुनासो गरे ।

सभामुख घिमिरेले भने, ‘संसदीय समितिहरू नबनाउँदा घाटा भइरहेको छ । अहिले जसले समिति चलाइरहनुभएको छ, उहाँहरूले पनि मैले नै चलाउने हो भन्ने निर्धक्कताका साथ काम गर्न सक्नुभएको छैन । अर्को के भइरहेको छ भने छिटो–छिटो विधेयकलाई अघि बढाउन र परिणाम निकाल्न घाटा भइरहेको छ । यो घाटा पूर्ति गर्नका लागि छिटो समितिको सभापति निर्वाचित गर्नुपर्ने हो । यसका लागि राजनीतिक दलहरूको प्रतिबद्धता देखिएन । छलफल गरेपछि हुने कुरा यही हो । आखिर सङ्ख्या यही हो, व्यक्ति यिनै हुन, पार्टी यिनै हुन् । दुई तिन दिनभित्र हुने काममा उहाँहरू लाग्न सक्नुभएको छैन । साह्रै धेरै कोसिसहरू गरियो, मत रमिता हेरेर बस्नुपर्ने अवस्थामा पुगेँ । जिम्मेवारीको हिसाबले रमिता हेर्ने कुरा नहुने, तातो नलागेपछि त रमिता हेर्ने अवस्थामा पुगेँ । किनभने हिजो मात्रै पनि सूचना निकालिदिँउ भनेर सचिवालयसँग कुराकानी गरेको थिएँ । सूचना निकालेपछि तातो लाग्छ कि भनेको त्यसो नगरौँ भन्ने कुरा भयो । दलका प्रमुख सचेतकहरू, सचेतकहरू, दलका प्रमुख नेताहरूलाई पटक पटक भनेको छु । चुनाव गर्दा गठबन्धन गरेर पनि गर्न सक्छन्, त्यसो गर्दा सत्तापक्षलाई फाइदा नै पुग्न सक्छ, उहाँहरूले पहल गरेर बाँडफाँड गर्न सहमति जुटेन भने चुनाव गर्न त सक्नुहुन्छ तर त्यसका लागि पहल नै देखिएन ।’