राजनीति

मेयर शाहद्वारा संघ र प्रदेश मातहतका अस्पतालहरूमा हस्तक्षेपकारी कानुनी कारबाही गर्ने चेतावनी



काठमाडौँ, ३१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रचलित स्वास्थ्य सम्बन्धी कानुन–मापदण्डको पालना नगरेको पाइएमा संघ तथा प्रदेश मातहतका अस्पतालहरूमा हस्तक्षेपकारी कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।

महानगरभित्रका स्वास्थ्य संस्थाहरूले प्रचलित कानुन अनुसार असहाय विपन्नसहित लक्षित वर्गहरूलाई कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले स्पष्ट गरेको छ । शाहले भनेका छन्, ‘काठमाडौँ महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरूले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्य सम्बन्धी कानुन–मापदण्डको पालना नगरेको पाइएमा सङ्घ–प्रदेश मातहतका अस्पतालहरूमा समेत हस्तक्षेपकारी कानुनी कारबाही गरिने ब्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’,

शाहले स्थानीय सरकार सञ्चालन ऐन अनुसार व्यवहारिक प्रयत्न भएको नपाइएको भन्दै सरकारी अस्पतालमा समेत सरसफाइ, सेवा प्रवाह अस्तव्यस्त देखिएको बताएका छन् । ‘काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढङ्गबाट सञ्चालन भएको २ वटा स्वास्थ्य संस्था बन्द गरिएको छ । यस कार्यलाई अझ प्रभावकारी बनाउन महानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानुनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन स्पष्ट निर्देशन गरिएको छ’, शाहको भनाइ छ ।