Banner News

कसैसँग झुकिंदैन, सरकार गए जान्छ : प्रधानमन्त्री दाहाल



काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् ।

आज बिहान प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग बालुवाटारस्थित निवासमा भएको भेटमा उनले सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचार र बेथितीविरुद्ध लड्दा लड्दै बरु सरकार गए जान्छ भन्ने सोचिएको छ के । यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

त्यस्तै आज पार्टीका दिवंगत नेता डिआर पौडेलको चौथो स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘कतिपयले आशंका गरेको देख्छु- सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु- सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो । भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’