Banner News

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन



काठमाडौँ, १ असार । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको छ ।

समितिका सभापति पशुपतिशमशेर राणाका अनुसार सिंहदरबारस्थित सुनुवाई समितिको हलमा बिहिबार र शुक्रबार भएको सनुवाईपछि कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने निर्णय भएको हो । कार्कीलाई सर्वसहमतिले प्रधानन्यायाधीशका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहिबारको बैठकमा कार्कीले आफ्नो कार्याकालको कार्ययोजना प्रस्तुत गरेका थिए भने भने शुक्रबार सांसदहरुको प्रश्नको सामना गरेका थिए । उनले आफ्नो कार्यकालमा सर्वोच्चलाई भष्टाचारमुक्त बनाउने, बिचौलिया नियन्त्रण गर्ने, सुशासन कायम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा सांसदहरुले उनलाई ब्यक्तिको जग्गा हडपेको, घुस खाएको, पुराना मुद्दाको बेवास्ता गरी २ महिना अघि आएका मुद्दालाई अघि बढाएको, सर्वोच्चको भवन निर्माणमा आर्थिक चलखेल गरेको जस्ता आरोप लगाएका थिए । उनले आफूमाथिको आरोप तथ्यहीन रहेको बताउँदै आरोप पुष्टि भएमा जुनसुकै बेला राजीनामा दिने बताए ।