समाचार

भक्तपुरमा ट्राफिक सचेतना कक्षा शुभारम्भ



भक्तपुर, २ असार । ट्राफिक कारबाहीमा परेकाले जरिवाना तिरेर लिने सचेतना कक्षाका लागि अब काठमाडौँस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जानु नपर्ने भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरममा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, लेन अनुशासन उल्लङ्घन गरेको, तीव्र गति र रातोबत्ती उल्लङ्घन गरी कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक राजु कार्कीले भने, “असार ३ गते आइतबार बिहान काठमाडौँ उपत्यका ट्राफिक प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले भक्तपुरमा सुरु हुने सचेतना कक्षाको उद्घाटन गर्नु हुनेछ । आइतबार उहाँकै उपस्थितिमा ट्राफिक कारबाहीमा परेका चालकलाई पहिलो सचेतना कक्षा सञ्चालन गरिनेछ ।”

मादक पदार्थ सेवन गरेका बाहेक लेन अनुशासन, रातो बत्ती र तीव्र गतिका कारण कारबाहीमा पर्ने चालक अब जरिवाना तिर्न र सचेतना कक्षा लिन काठमाडौँ जानु नपर्ने भन्दै उनले जरिवानालगायत सचेतना कक्षाको व्यवस्था ट्राफिक कार्यालय भक्तपुरमा गरिएको जानकारी दिए । मापसेमा परेकाका हकमा भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ नै पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको प्रहरी निरीक्षक कार्कीले बताए । उनले भने, “भोलिदेखि मापसे बाहेकका ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना तिर्न र सचेतना कक्षा लिन भक्तपुरमै व्यवस्था गरिएको छ, यसले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने विश्वास लिएका छौँ ।” रासस