राजनीति

उपयुक्त उम्मेदवारको तयारीमा जुट्न सभापति लामिछानेको आह्वान



काठमाडौ २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।
रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षारोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन बिस्तारमा जुट्न आह्वान गरेका हुन् ।
‘विसं २०८४ को निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ’, उनले भने, ‘वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रूपमा तयार गर्ने योजना छ ।’
सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गरे । रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ ।