समाचार

पाँचथर हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान



पाँचथर, ३ असार । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचैजनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरूलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै, फिदिम–४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुईजना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।

बाढीले याङवरक गाउँपालिका–२, फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान तथा कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एउटा पुल, तमोर करिडोरको एउटा पुल (बेलीब्रिज) बाढीले बगाएको छ ।

यस्तै, फालेलुङ गाउँपालिका वडा–३ र ७ को सीमामा रहेको एउटा रसोही फालेलुङ–३ र ५ को सीमामा रहेको अर्को पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा स्काभेटर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध छ । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३, पांग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ । फिदिम–३, कान्छीदोकानमा पनि भेलका कारण सडक अवरुद्ध भएको छ ।

यस्तै, फिदिम–यासोकअन्तर्गत कुम्मायक गाउँपालिका–४, वनथाकमा सडक अवरुद्ध भएको छ । फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुई र फालेलुङ–३ र ५ को सीमाको एउटा झोलुंगे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सडक सम्पर्कविच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवाखोला पुल बगाएको छ । बाढीले ५४.५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वि.सं. २०४२ मा निर्मित यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर, गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो । यस्तै, तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण गरिएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् ।

दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्‍याउने कार्य चुनौतीपूर्ण बनेको छ । यस्तै, यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ । रासस