राजनीति

सांसदहरूद्वारा विपत्मा उद्धार, क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण



काठमाडौँ, ३ असार । सांसदहरूले पूर्वी पहाडी जिल्लाहरूमा केही दिनदेखि लगातार परेको वर्षाका कारण ठूलो विपत्ति भएको भन्दै उद्धार, राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद योगेश भट्टराईले वर्षापछि ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र पाँचथरमा ठूलो क्षति भएको तथा ताप्लेजुङको हेवाखोला पुल बगेकाले सडक सम्पर्क टुटेको बताए । “फत्तालुङसहितका दर्जनौँ ठाउँमा घरहरू क्षति भएको छ । नजिकका स्कुलहरूमा आश्रय लिनुपर्ने अवस्था भएको छ,” उनले भने, “हेवाखोला पुल बगाएपछि ताप्लेजुङको सडक सम्पर्क टुटेको छ ।”

उनले सरकारका तर्फबाट विपत्को यथार्थ जानकारी गराउन पनि माग गरे । “विभागीय हिसाबले गृहमन्त्रीको जिम्मेवारी हुन आउला, संसद्मा विपत्को विषयमा सरकारको जवाफ आओस्,” सांसद भट्टराईले भने, “साथै, उद्धार, राहत र क्षतिपूर्तिमा पनि तदारुकता देखाओस् ।” त्यस्तै नेपाली कांग्रेसका सांसद दीपक खड्काले संखुवासभासहित पूर्वी पहाडी जिल्लामा वर्षापछि बाढीपहिरोका कारण ठूलो विपत्ति निम्तिएको बताए । जनधनको क्षति हुनुका साथै सञ्चार सम्पर्कमा समेत समस्या आएको उनले उल्लेख गरे । उनले तत्काल राहत, उद्धार र क्षतिपूर्तिका लागि संसद्ले ‘रुलिङ’ गर्नुपर्ने बताए ।

“पूर्वी पहाडी जिल्ला संखुवासभा, तेह्रथुम र पाँचथरमा पहिरोका कारण संकटमा छन् । धनजनको क्षति भएको छ । दुईवटा पक्की पुलसहितका पुलहरू बगाएको छ । खोला किनारका बालीनाली नष्ट भएको छ,” सांसद खड्काले भने, “क्षतिग्रस्त जिल्लामा उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था होस् । सरकारलाई सभामुखबाट रुलिङ होस् ।” उनले धेरै क्षति भएको भन्दै उद्धार, राहत र क्षतिपूर्तिका लागि जुट्न संघीय, प्रादेशिक र स्थानीय सरकारसँगै राजनीतिक दललाई आह्वान समेत गरे । सुपरहेवा जलविद्युत् आयोजनाको पावरहाउसमै क्षति पुगेको र विद्युत् आपूर्ति बन्द भएको उनले जानकारी गराए ।