मनोरञ्जन

आजदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शनमा रोक



काठमाडौँ, ४ असार । आजदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गर्ने बताएका हुन् । भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको भए पनि सो पुरा नभएका कारण भारतीय चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको बताएका हुन् । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उनको भनाइ छ ।

शाहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन् । उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको शाहले स्पष्ट गरेका छन् । उनले भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’
‘आदिपुरुष’ चलचित्रमा संवाद लेखेका मनोज मुंतासिरले जनताको असन्तुष्टिलाई ध्यानमा राखेर चलचित्रमा केही संवाद परिवर्तन गरिने बताएका छन् ।