Banner News

समाजवादी मोर्चाको घोषणा आज हुँदै: संयुक्त सङ्घर्षका कार्यक्रमहरू गर्ने



काठमाडौँ, ४ असार । समाजवादी मोर्चा आज घोषणा हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ । मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने पनि मस्यौदामा उल्लेख छ । मोर्चाले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तर्क्रिया, आमसभा तथा आवश्यकताअनुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ ।

मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ । मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ । मोर्चालाई प्रदेश तथा जिल्ला हुँदै स्थानीय स्तरमै विस्तार गरेर लैजाने प्रस्ताव गरिएको छ । मोर्चा घोषणाका लागि कार्यदलले प्रस्ताव गरेको घोषणापत्रमा मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्ष सहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानलाई पनि सहभागी गराउन छलफल जारी रहेको छ । समाजवादी मोर्चामा भट्टराईलाई पनि सहभागी गराउन नेपाल समाजवादी र माओवादी केन्द्र दुबैतर्फका नेताहरू जोडतोडका साथ लागेका छन् । यदि मोर्चामा भट्टराईलाई नसमेटिए माओवादीसँग एकता गरेर भए पनि समेटिनुपर्ने माओवादीका अर्का एक नेताले बताए । यस्तै नेपाल समाजवादी पार्टीका नेताहरूले पनि माओवादी केन्द्रका नेताहरूलाई भेटेर एकता गरेरै भए पनि समेटिनुपर्ने दबाब दिएका छन् । यसबारेमा स्वयम् भट्टराईले भने मुख खोलेका छैनन् ।