राजनीति

रास्वपाको दस्तावेज समूहगत छलफलपछि अन्तिमरुप दिने



काठमाडौ ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले दस्तावेज माथि समूहगत छलफल गरेर अन्तिम रुप दिने भएको छ ।
सोमबार बिहान बसेको केन्द्रीय तथा संसदीय समितिको संयुक्त बैठकले दस्तावेजका लागि ७ वटा समूहबाट प्रतिनिधि हुने र इच्छुकहरू मध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाउने निर्णय गरेको छ ।बैठकले पहिलो ड्राफ्टमा परेका संसोधनका प्रस्तावलाई आवश्यक छलफल गरि दोस्रो ड्राफ्ट तयार गर्ने निर्णय गरेको महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

दस्तावेज तयार गर्न पुनः नीति विचार कार्यशाला गरि भदौको दोस्रो सातासम्म अन्तिम रुप दिने महामन्त्री ढकालले बताए । दस्तावेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने निर्णय गरिएको छ । दस्तावेज माथि अन्तिम रुप दिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।
महामन्त्री ढकालले नीति कार्यशालामा प्रस्तुत गरेको दस्तावेज माथि पार्टी नेताहरुले आलोचना गरेपछि थप छलफल गर्ने गरि नीति कार्यशाला अघिल्लो साता रोकिएको थियो ।
बैठकमा पार्टी स्थापना भएको ७ असारमा स्थापना दिवस मनाउने तयारीका विषयमा पनि छलफल भएको थियो ।