राजनीति

संसदीय रेकर्ड हटाउने विषयलाई फेसनका रुपमा लान हुँदैन : अध्यक्ष तिमिल्सना



काठमाडौँ, १५ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने बताएका छन् ।

आज संसद भवन नयाँ वानेश्वरमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यस्तो नहोस् कि आज बोलेको कुरा दुई वर्षपछि आफैँले रेकर्ड सुन्दा के बोले हुँला ! पछुतो हुने खालको सकभर नहोस्’ ।

अन्यथा बोल्नका लागि बोल्ने र कहिलेकाहीँ आवेगमा प्रस्तुत हुँदा सांसदको अभिव्यक्ति नै संसदीय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने भएकाले बोल्दा ख्याल गर्नुपर्ने उनको सुझाव छ। उनले भने, ‘कहिलेकाहीँ आरोपप्रत्यारोपमा जवाफ दिँदा कडै दिउँ भन्ने हिसावले जाँदा त्यो कडा हुँदा हुँदा रेकर्डबाट हटाउनुपर्नेसम्मको कडा भइदियो भने के हुन्छ ? र रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रुपमा लाने विषय बनाउन हुँदैन।’