राजनीति

राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ : सभामुख घिमिरे



काठमाडौँ, १६ असार । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले राजनीतिक परिवर्तनमा मिडियाको भूमिका रहेको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न नहुने तर कमजोरी भने हटाउन आवश्यक रहेको बताए ।

उनले भने, “सञ्चार क्षेत्रको महत्त्व धेरै छ । बन्द र खुला दुवै समाजमा सञ्चारको भूमिका महत्त्वपूर्ण छ,” “सञ्चार संसद्को महत्त्वपूर्ण अंग हो । यसले आफ्नो जिम्मेवारी के हो भन्ने भुल्न हुँदैन ।”

नयाँ पुस्ता नयाँ मिडियामा अभ्यस्त रहेको भन्दै उनले मिडियासँग सम्बन्धित ऐन कानुन बन्ने क्रम जारी रहेको बताए ।“राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ । संसद् र संसदीय गतिविधि प्रभावकारी बनाउन विश्लेषणात्मक समाचार जरूरी छ,” उनले अगाडि भने, “आवेग र निराशा बढाउनेभन्दा पनि अहिलेको परिवर्तनलाई संस्थागत गर्न सञ्चारको भूमिका महत्त्वपूर्ण हुन्छ ।”