राजनीति

जी–२० सम्मेलन नेपालका लागि महत्त्वपूर्ण उपलब्धि : मन्त्री डा. महत



काठमाडौँ, ३ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन् ।

सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जी–२० सम्मेलनमा मूलतः ३ वटा महत्त्वपूर्ण विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने, ‘पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारतीय र चिनियाँ अर्थमन्त्रीहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धि र महत्वका रूपमा लिनुपर्छ ।’

मन्त्री डा. महतले थपे, ‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरूको समस्या जी–२० को फोरममा राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो । ’ ‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्यिाएको चुनौती देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ,’ मन्त्री डा. महतले भने, ‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरू ठाउँबाट पनि सञ्चालन हुन्छ । त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो ।’