राजनीति

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गी वार्ड सञ्चालन



सुनसरी, ८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतवार हिजाेदेखि डेङ्गीका बिरामीलाई उपचार गर्न तत्काल ३० शय्या सञ्चालनमा ल्याएको छ । 

प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गी क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गी शय्या सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।

सय शय्या क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गी अस्पतालको रुपमा परिवर्तन गरेको उहाँले बताउनुभयाे ।

पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० शय्याको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत शय्या डेङ्गीका बिरामीले भरिएपछि छुट्टै डेङ्गी अस्पताल सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेङ्गी सङ्क्रमित आउने गरेका छन् ।

डेङ्गीको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेङ्गी अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । रासस