शैक्षिक

हिलसाइड इन्जिनियरिङले ओजेटीमा जापान पठाउन सक्ने



काठमाडौँ, ८ साउन । शिक्षासँग रोजगारीलाई जोड्ने लक्ष्यका साथ हिलसाइड इन्जिनियरिङले ओजेटीमा जापान पठाउने भएको छ ।

हिलसाइड कलेज अफ इन्जिनियरिङ, कोटेश्वर, काठमाडौ र जापानको आइएमएसी इन्जिनियरिङ कम्पनिका बीचमा भविष्यमा देशको औद्योगिक बृद्धिको नेतृत्व गर्नसक्ने जनशक्तिको विकास गर्ने उद्देश्य परिपूर्तिका लागि पूर्वान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिलसाइड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरुलाई जापानी कम्पनीहरूसंग जोड्न र आपसी विकासको लक्ष्य राख्दै एक अर्कासँग सहकार्य गर्ने उद्वेश्यका साथ सम्झौता सम्पन्न भएको छ ।

विशेष गरी, जापानी कम्पनीहरूमा नेपाली विश्वविद्यालयका स्नातकहरूको प्राविधिक सीप विकास गर्ने, जापानी कम्पनीहरूको बैदेशिक सम्बन्ध विस्तारमा सहयोग गर्ने र ती दक्ष स्नातकहरूद्वारा नेपालको श्रम बजारको विकासमा योगदान पुर्याउने यस कार्यक्रमको उद्देश्य रहेको छ । आइएमएसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आइएमएसीद्वारा भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ्ग नामक रोजगार सहायता परियोजना कार्यान्वयन गर्नेछ। यो जापानी कम्पनीहरूमा पूर्ण-समय कर्मचारीहरूको रूपमा काममा राख्नको लागि प्राप्त गर्ने कम्पनीमा निश्चित समयको लागि अन द जब प्रशिक्षण (ओजेटी) गराउने कार्यक्रम हो ।

ओजेटीलाई व्यावहारिक कार्यको लागि सीप र जापानी भाषा मार्फत तत्काल जनशक्ति परिपूर्तिको श्रोतको रूपमा ग्रहण गर्ने यो सम्झौताको उद्देश्य रहेको छ । हिलसाइड कलेज अफ इन्जिनियरिङ्गबाट स्नातक गरेका विद्यार्थीहरुले जापानमा यो कार्यक्रममा जान चाहेमा बिदेशको सीप र प्रविधि नेपाल भित्र्याउन सक्ने जसले गर्दा समृद्व मुलुक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।