राजनीति

सभामुख घिमिरेसँग चिनियाँ नेताहरुको भेटवार्ता



काठमाडौँ, ८ साउन । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ ।

काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो । सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो ।

उहाँले संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको बताउँदै तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि जोड दिनुभयो । हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्राग ऐतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको सभामुखको भनाइ छ । उहाँले नेपाल आउने पर्यटकको मुख्य हिस्सा चीनको रहेको बताउँदै उहाँले यसले नेपालको पर्यटन उद्योगमा टेवा पु¥याएको उल्लेख गर्नुभयो ।