समाचार

आजको मौसम



काठमाडौँ, ११ साउन । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । बिहानैदेखि केही भू–भागमा भारी वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।