राजनीति

सुन प्रकरणमा स्वतन्त्र छानबिन गर्न अनुसन्धान समिति सरकारको पूर्ण साथ छ : अर्थमन्त्री



काठमाडौँ, ११ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केही कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताए । उनले सुन प्रकरणमा मेसिन वा मानवीय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दाबी गरे ।

मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए । उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल परिवर्तन गर्दै जानुपर्ने धारणा राखे । विमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका विषयमा पनि छलफल भएको उनले बताए । राज्यका सबैको समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैरकानुनी गतिविधिहरु कम भएर जाने उनले बताए ।