Banner News

समिति सभापति चयन नगरिए बैठकमा आउँदैनौँ : नेता भट्टराई



काठमाडौँ, १४ साउन । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसदीय समितिको सभापति चयनमा जोड दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा उनले जतिसक्दो चाँडो सभापतिको टुंगो लगाउनुपर्ने बताए ।

“समिति बनाएको तीन महिना भयो, अहिलेसम्म सभापति चयन भएन । एक महिनामा हुनुपर्ने हो,” उनले भने । सभापति चयनका लागि राजनीतिक दलमा सहमति गर्नुपर्ने भन्दै उनले त्यसो हुन नसके संसदीय प्रक्रियाबाट अघि बढ्नुपर्ने धारणा राखे । “गठबन्धनको बहुमत छ, सभापति बनाएर जाँदा हुन्छ,” उनले भने, “तीन महिनासम्म नेतृत्वविहीन बनाउने ठिक भएन । हाम्रो गम्भीर आपत्ति छ ।”

 “यसरी नै समिति सभापतिविहीन भएर चल्ने भए हामी समिति बैठकमा आउँदैनौँ । हामीलाई, एमालेलाई कुनै समिति चाहिएको छैन,” उनले भने, “अर्को बैठकबाट हामी अनुपस्थित हुन सक्छौँ, यस्तै रहे ।” यो विषयमा आजै आफूहरूले सभामुख देवराज घिमिरेसित भेटेर छलफल गर्ने उनले बताए ।