राजनीति

विश्वप्रकाशलाई महेश बस्नेतको चेतावनी: देउवा जस्तो थलामा बसेको भैंसी जस्तो हैन एमाले



चितवन, १५ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई खुल्ला चुनौती दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको आयोजनामा आज भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जस्तो थलामा बसेको भैंसी जस्तो नभई एमाले मुलुकको नेतृत्वकर्ताको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । सत्ता स्वार्थको लागि प्रचण्डको बैशाखी नेपाली कांग्रेस बनेको उल्लेख गर्दै नेता बस्नेतले केपी शर्मा ओली नेपाल र नेपालीको शिर उचो बनाउन सक्ने हाइट र लाईट भएको नेताको रुपामा दावी गर्नुभयो । महामन्त्री शर्माले हिजो एक कार्यक्रममा ‘एमालेमा केपी ओलीको विरुद्धमा आवाज उठान नसक्ने भएकाले एमालेका युवा नेता कुनामा खाएर दुनाको कुरा गर्ने’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नको लागि आफुले ठूलो त्याग गर्न तयार रहेको विगतको इतिहास स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो गल्ती लुकाउन एमालेप्रति नजर नलगाउनुस् । झलनाथ खनाल, माधव नेपाल नेतृत्वमा हुँदा कांग्रेस जस्तै पिलो भएको पार्टी थियो तर अहिले त्यो पिलो निचोरे फालेका छौं । त्यसैले तपाई कांग्रेसमा भएको कोलिष्टोर, क्यान्सर, ऐजेरुलगायतका राजनीतिक रोगहरु हटाउनुस् । त्यस्ता राजनीतिक जीवनमै असर गर्ने राजनीतिक रोग भएका व्यक्ति एमालेलाई चाँहिदैन । शेरबहादुर देउवा जस्तो थलामा वसेको भैंसी जस्तो हैन एमाले । चर्चाको लागि हामी विश्वप्रकाश शर्मा जस्तो देउवाको देखावटी विरोध गरेजस्तो गर्ने हैन, हाइट र लाईट भएको केपी ओली जस्तो नेताको नेतृत्वमा चलाउने पार्टी एमाले हो । तपाईको सभापति शेरबहादुर देउवा जस्तो थलामा बसेको भैंसी जस्तो हैन एमालेका अध्यक्ष केपी ओली । केपी ओली त मिसन, भिजन र मुलुक बनाउने दृष्टिकोण भएको र विकास र समृद्धिको नायक हो । त्यसैले हामी केपी ओलीको कार्यकर्ता हौं ।’

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ८० प्रतिशत नेता तथा कार्यकर्ता भ्रष्टाचारी रहेको दावी गर्दै उहाँले कांग्रेस पार्टीमा नेता तथा कार्यकर्ताको भ्रष्टाचारको विषयमा भनेर नै नसकिँने बताउनुभयो । एमाले भ्रष्टाचारको विरुद्धमा जहिले पनि शतिशाल झैं उभिने भएकाले एमालेको विरुद्धमा लगाईएका जस्तोसुकै भ्रष्टाचारको आरोपहरुको छानविन गर्न खुल्ला चुनौती दिनुभयो । लडाकु, एनसिएल, वाईडबडी, वालुवाटार, भुटानी शरणार्थी, सुनलगायतका काण्डै काण्डहरुमा कांग्रेस माओवादीका नेताहरुको नै संलग्नता रहेको उल्लेख गर्दै उहाँले आफ्नो कर्तुत लुकाउन एमालेविरुद्ध प्रहार गरिरहे एमाले चुप लानेर नवस्ने चेतावनी दिनुभयो । एमालेलाई खाने कसैले भ्रम नपार्न चेतावनी दिँदै उहाँले एमालेका कार्यकर्ता प्रविधिको प्रयोग गरी भ्रमहरुलाई बुढी औंला चलाएको भरमा तोड्ने उद्घोष गर्नुभयो ।

आफुले भक्तपुरमा पाँच वर्षमा गरेको काम २५ वर्षमा चितवनमा गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चुनौती दिँदै उहाँले पाँच लाख बजेट ल्याउन नसक्नेले मुलुक बनाउने के भाषण गर्नु ? भन्दै आक्रोस जनाउनुभयो । सेटिङ चाँही सेटिङ नै हो तर राजिनामा चाँही नमागौं भन्दै उफ्रदै हिड्ने लामिछानेले चितवनमा भ्रमको खेती गरेर नै विय हासिल गरेको उल्लेख गर्नुभयो । रविको नागरिकता, पासपोर्ट तथा ड्राइभरको मृत्युबारे छानविन गर्नुपर्नेमा जोड दिँदै उहाँले भ्रमका आयु लामो नहुने चेतावनी दिनुभयो ।