राजनीति

पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : मन्त्री बस्नेत



काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु नपर्ने बताएका छन् । 

आज दोस्रो आधारभूत जीवन रक्षा दिवस (बेसिक लाइफ सपोर्ट डे) को अवसरमा धुलिखेल अस्पतालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु नपर्ने बताएको हुन् ।   

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि देश भरिका १६ वटै संघीय अस्पतालहरूका ३ हजार ५ सय २३ शय्या विपन्नका लागि नि:शुल्क गरेको बताउँदै सम्पूर्ण निजी अस्पतालहरुले १० प्रतिशत शय्या विपन्नका लागि नि:शुल्क गर्ने कानूनी प्रावधानलाई कडाइका साथ लागु गराएकोले बिरामीको उपचारमा धेरै हदसम्म सहज भएको दाबी गरे । दुई वर्षभित्र सबै नेपालीलाई नि:शुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्षभित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताए ।  

मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीका लागि पनि वीर अस्पताल पाँच शय्याको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको बताए । वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि जाने बिरामीको संख्या ४० प्रतिसतले बढेको पाइएको मन्त्री बस्नेतको दाबी छ ।