राजनीति

राप्रपाद्वारा कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह



विराटनगर, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार गठन गर्न आग्रह गरेका छन् । 

आज कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर झरेका लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार गठन गर्न आग्रह गरेका हुन् ।

कार्कीसँगै रहेका उनले भने, ‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु । तपाईहरुले ल्याएको व्यवस्था हो । काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ ‘हामीले सरकार निर्माणको प्रक्रिया धाराहरुमा  राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन । कांग्रेस र एमाले मिलेर सरकार चलाउनु भन्ने हाम्रो सुझाव हो ।’

उनले आफू कोशी प्रदेशमा सरकार निर्माणमा निर्णय हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्न सक्ने बताए । ‘कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौँ । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौँ,’ लिङ्देनले भने, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसाबले प्रस्तुत हुन सकिन्छ ।’