शैक्षिक

चित्रकला प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान



ललितपुर, १७ साउन । प्रतिभा बुक बैंकको २९ औं वार्षिकोत्सव र सातोआकी इतो स्मृति दिवसको अवसरमा “बुद्ध र शान्ति” शीर्षकमा आयोजित चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रतिभा समाजद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त संस्थाको वार्षिक उत्सव र सातोआकी इतोको स्मृतिमा आयोजित चित्रकला प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने आयुषा सुनुवारलाई नगद दुईहजार पाँचसय रूपियाँ र विभिन्न उपहार प्रदान गर्नुभयो । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने आकृती मानन्धरलाई एकहजार पाँचसय रूपियाँ, तेस्रो हुने सर्ग ताम्राकारलाई एकहजार रूपियाँ र सान्त्वना पुरस्कार प्राज्ना श्रेष्ठ र ओएन अवालेलाई पाँचसय रूपियाँसहित प्रमाणपत्र र विभिन्न सामग्री प्रदान गरिएको थियो ।

योङ पिकासो संस्थाका संयोजक अजय देशारको संयोजनमा भएको चित्रकला प्रतियोगितामा नोरा श्रेष्ठलाई प्रमाणपत्र र मायाको चिनोसहित विशेष पुरस्कार प्रदान गरिएको थियो । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको अवधारणा अनुसार विकास गर्ने योजना सफल पार्न शिक्षित जनशक्तिको विशेष सहयोग रहने बताउँदै विद्यार्थी र अभिभावकलाई हौसला मिल्ने यस्ता कार्यक्रम सह्रानीय रहेको बताउनुभयो ।

जापानका नागरिक सातोआकी इतोको घोप्टे भिरमा भएको विमान दुर्घटनामा परी निधन भएपछि उहाँका परिवारले नेपालमा उहाँको स्मृतिमा “सातोआकी भवन”निर्माण गरेर सोही भवनमा प्रतिभा बुक बैंक स्थापना गरी नेपालका जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको छ । सो अवसरमा प्रतिभा बुक बैंकले हरिसिद्ध मा.वि.,पाटन हाइस्कुल, यशोधरा बौद्ध विद्यालय, जगतसुन्दर ब्वनेकुथी,श्रमिक शान्ति मा.वि., त्रिपद्म मा.विलगायतका कक्षा ११ र १२का जेहेन्दार ९५ जना विद्यार्थीलाई पुस्तक निःशुल्क प्रदान गरेको थियो ।

प्रतिभा समाजका कार्यकारी सदस्य किरण नगरसिंह शाक्यले प्रतिभा बुक बैंकले टिआरके ग्रुपको सहयोगमा उक्त पाठ्यक्रम खरिद गरी पढिसकेपछि पुनः त्यही फिर्ता गर्ने गरी विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरेको जानकारी दिनुभयो । उहाँले सातोआकी भवनमा प्रतिभा समाजले हाजीरीजवाफ, हाइकु,कविता वाचन, चित्रकला प्रतियोगिता र स्थापनाकालदेखि नै कक्षा ११ र १२ का विद्यार्थीलाई पाठ्यक्रमका पुस्तक प्रदान गर्दै आएको बताउनुभयो ।