समाचार

महसुल घटाएपछि उपभोक्तालाई राहत



पाल्पा, १७ साउन । पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागु हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । 

पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रुपमा रहेको यस संस्थाले थोरैदेखि धेरै पानी उपभोग गर्ने उपभोक्तालाई ध्यानमा राखेर बर्सेनि महसुल दर घटाउँदै आएको छ । आठ युनिटसम्म न्यूनतम दर रु एक सय ७५ यथावत् राखिएको छ । नौदेखि २० युनिटसम्म (न्यूनतम रकम रु एक सय ७५ सहित) प्रतियुनिट रु ४० घटाएर रु ३० बनाइएको छ । एक्काइस युनिटभन्दा माथि (न्यूनतम रकम रु एक सय ७५ सहित) प्रतियुनिट रु ६३ घटाएर रु ५३ महसुल  कायम गरिएको संस्थाका अध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जानकारी दिए ।   

तीन हजार दुई सय धारा जडान गरी घर–घरमा सफा, स्वच्छ र शुद्ध खानेपानी वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ । शाल तीन हजार ९२३ धारा जडानका लागि उपभोक्ताले शुल्क बुझाएका छन् । अहिले तीन हजार ४९३ धारामा नियमित पानी वितरण भइरहेको छ । ४३० धारा जडान गर्न बाँकी छ । सात हजार धारा जडान गर्न करिब रु ५० करोड खर्च हुने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले जानकारी दिए । रामपुर–४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन/तीन घण्टा खानेपानी वितरण भइरहेको छ ।  रासस