राजनीति

सरकारका कारण जनतामा आशा पलाएको छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी जस्तो नभएको बताउनुभएको छ ।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले आफू नेतृत्वको अहिलेको सरकारका गतिविधिले जनतामा नयाँ आशा पलाएको बताउनुभयो । ‘हाम्रो पार्टी, पार्टीजस्तो भइरहेको छैन । पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पार्टीका सन्दर्भमा बेलामौकामा भन्ने गरेको छु । हामीसँग नेता कार्यकर्ताको विशाल पङ्ति त छ। तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन।’

प्रचण्डले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा पार्टी नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको दावी गर्नुभयो । पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै उहाँले यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास लिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारका कारण जनतामा आशा पलाएको छ। भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ ।’