Banner News

देउवालाई ओलीको प्रश्न: तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ?



काठमाडौँ, १७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।

वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगर्ने समेत बताए । उनले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकारले नमानेको समेत बताए । उनले सुन तस्करीबारे संसद्मा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताए । उनले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताए । अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताए ।

अध्यक्ष ओलीले भने, ‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्ष पछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले । कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ? किन मान्दैन सरकार ? हामी छानबिन गर्दैछौ भन्छ । उहाँहरु आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु । म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवाजी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’