समाचार

जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ



खलङ्गा, १८ साउन । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालीकाटोल बस्ने ३४ वर्षीय शङ्कर भूललाई पक्राउ गरिएको हो ।

प्रतिवादी नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको जागिरवाला हुँ, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु भर्ना गरेबापत नगद रूपैयाँ दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।प्रहरी नायब उपरीक्षक पाण्डेयका अनुसार पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको थियो । पक्राउ परेकाको खाता नम्बर र ई–सेवामा रकम आएको बताइएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए रासस