समाचार

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु



सल्यान, ३२ साउन । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको भने दुई जना घाइते भएका छन् । 

बुधवार जिल्लाको त्रिवेणी गाउँपालिका-६ बाट ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो त्रिवेणी गाउँपालिका ५ लाम्री खोलास्थित भित्री कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका ४ अकाशेका अन्दाजी ५१ वर्षीया ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । अन्य दुई जना भने सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको उहाँले बताउनुभयो । 

उकालोमा चढ्न नसकेपछि पछाडि आउँदा अटो सडकबाट झन्डै १५० मिटर तल खसेको छ । अटो चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।