Banner News

सभामुख घिमिरे र प्रधानमन्त्रीबीच छलफल



काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित छलफल गरेका छन् ।

आज बिहान बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल भएको हो । छलफलमा सभामुख घिमिरेले बैठक अवरुद्ध हुनु राम्रो नभएको गुनासो गरेका थिए । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा सांसदले बोल्न खोजेको तर बैठक सञ्चालनमा व्यवधान हुँदा सम्भव नभएको बताएका थिए ।

“सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायत धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ, दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,” सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो, “आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।”

संसदीय समितिको सभापति चयन नभएको विषयमा पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।