समाचार

भरुवा बन्दुकसहित एक युवक पक्राउ



काठमाडौँ, १ भदौ । दोलखामा बन्दुक लुकाएर राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कालिञ्चोक गाउँपालिका–३, बुलासेका २० वर्षीय नवीन खत्रीलाई बिहीबार नियन्त्रणमा लिएको हो ।

खत्रीले आफ्नै घरमा भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनको घरको छानोमा राखिएको अवस्थामा एकथान भरुवा बन्दुक फेला परेको थियो । तर, उक्त बन्दुक नचल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यस्तै, घरनजिकै रहेको खत्रीकै बारीमा प्लास्टिकले बेरेर राखेको अवस्थामा थप एकथान भरुवा बन्दुक फेला परेको थियो । उक्त बन्दुक नयाँ र चल्ने अवस्थामा रहेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । ती दुईथान भरुवा बन्दुकसहित उनलाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।