Banner News

सुन प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक छैनः गृहमन्त्री



कास्की, २ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताएका छन् ।

कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुन प्रकरणको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन राज्यको संयन्त्र सक्षम रहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताएका हुन् । मन्त्री श्रेष्ठले यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा भएको ३३ किलो सुन प्रकरणमा संसदीय समिति बनाइएपनि प्रतिवेदन आउनेबाहेक केही नभएको बताए ।

‘राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक छैन,’ उनले भने, ‘छानबिन समिति बनाइयो समितिको रिपोर्ट आयो अन्य केही पनि आएन,  न सुन आयो, न सिफारिस कार्यान्वयन भयो । त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ, त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’