राजनीति

भोलिदेखि संसदको अवरोध हट्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि संसदको अवरोध हट्ने बताएका छन् ।

स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने बताएका हुन् । संसदको अवरोध हटाउने विषयमा आज साँझसम्म प्रयास बढाउने उनले बताए । अवरोध हटाउन आफूले विगतदेखि नै भरमग्दुर प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । यसका लागि राष्ट्रपति, सभामुख र गठबन्धनमा पनि छलफल भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजोमात्रै बालुवाटारमा सभामुखसँग छलफल गरेँ। आज बेलुकासम्म प्रयास बढाउँदै छौं । आशा गरिएको छ भोलि खुल्छ ।’

त्रिभुवन विमानस्थलबाट बाहिरएको ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरूद्ध गर्दै आइरहेको छ । साउन २९ गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते बस्नेगरी त्यस दिनको बैठक स्थगित गरेका थिए ।