समाचार

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु



काठमाडौँ, ३ भदौ । काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापा छन् । मृतक पुरूषको ठेगाना खुलिसकेको छैन।

मोटरसाइकलमा सवार १० वर्षीया बालिका गम्भीर घाइते छिन् । उनको परिचय खुलिसकेको छैन । उनको कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका-७ घर भई बस्ने बर्षीय ४१ बहादुर दान बहादुर थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।