राजनीति

बालबालिकाको क्षेत्रमा गरिने लगानीले देशलाई समुन्नत बनाउनुपर्छः उपसभामुख राना



काठमाडौँ, ३ भदौ । प्रतिनिधीसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाको क्षेत्रमा गरिने लगानीले देशलाई समुन्नत बनाउने धारणा व्यक्त गर्नुभएको छ ।

बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को २१ औं स्थापना दिवसको अवसरमा आइतवार राजधानीमा आयोजित समारोहलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपसभामुख रानाले आमाबुवा जेलमा पर्दा सँगै पुगेका बालबालिकाको उद्धार तथा व्यवस्थापन गर्ने सामाजिक काममा आफु विगतमा संलग्न भएको स्मरण गर्दै बालबालिकामा गरिने लगानी देशका लागि योग्य नागरिक उत्पादन गर्ने माध्यम भएको बताउनुभयो । उहाँले बालबालिकाको क्षेत्रमा हाल बजेट कटौती गर्दै लगेको सन्दर्भ निक्कै गम्भिर त्रुटी हो भन्दै अर्थमन्त्रालय तथा सम्वन्धीत निकायको ध्यानाकर्षण गराएको बताउनुभयो ।

बालअधिकारकर्मी एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले भन्नुभयो,“देशमा द्वन्द्व चल्दा बालबालिकाको खोप अभियान रोकिएको, विद्यालयमा आक्रमण, सुरक्षा निकाय बस्ने स्थानका रूपमा विद्यालयलाई छनौट गरेपछि बालबालिकाले पढ्न पाउने अधिकारबाट बञ्चित भएको थियो, त्यसबेला बालबालिका शान्ति क्षेत्र अभियानको परिकल्पना गरेर पहल गर्दा सिजप संस्था जन्मिएको स्मरण गर्नुुभयो । उहाँले बालअधिकारको क्षेत्रमा कार्यरत सबै संस्थाहरूको साझा उक्त अभियानका कारण खोप कार्यक्रम द्वन्द्वको बेला पनि सञ्चालन भएको र व्यारेक विद्यालयबाट बाहिर गएपछि बालबालिकाले पढ्न पाएको सम्झनुभयो ।

सिजपका अध्यक्ष राजेश शर्माले यस अभियानसँग सहकार्य गरेर देशभर साझेदार संस्थाहरूले बालअधिकारको प्रवद्र्धनका लागि बालबिवाह न्युनिकरण, पोषण, शिक्षा, बालअधिकारका लागि बनेका नीतिको कार्यान्वयनको सम्वन्धमा अनुगमन समेत गर्दै आएको बताउनुभयो । राष्ट्रिय बालपरिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले बालअधिकारका क्षेत्रमा कार्यरत संस्थाहरूको कार्यक्रम, योजना कार्यन्वयनका लागि परिषद्ले सहयोग र समन्वयको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । सिजपका पूर्वअध्यक्ष तारक धितालले संस्थाको विगत, वर्तमान र भविष्यका योजनाबारे कार्यपत्र प्रस्तुत गर्दै बालअधिकारको क्षेत्रमा यस अभियानले सधैं खबरदारी जारी राख्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बालबिवाह अत्यका लागि कर्णाली, कालीकोटलगायतका क्षेत्रमा सञ्चालित कार्यक्रम, बालबालिकाको क्षेत्रमा छुट्याइएको बजेटसम्वन्धी वृस्तित छलफल भएको थियो । कार्यक्रममा संस्थाको २१ औं स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष, विभिन्न साझेदार संस्था, परिकल्पनाकार, बालअधिकार कर्मीहरूलाई सम्मानपत्र,कदरपत्र र प्रसंसापत्र प्रदान गरिएको थियो ।